भोटेकोशी बाढीमा ९ हजारभन्दा बढीको उद्धार, २ हजार ५०२ जना सम्पर्कविहीन

भदौ १५- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार कार्य अझै जारी छ ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनाको समेत उद्धार गरिएको छ। नेपाली सेनाले २५४ जना विदेशी नागरिकसहित ३ हजार ३२१ जनाको हवाई उद्धार गरेको जनाएको छ ।
बाढीमा परी हालसम्म ७८१ जनाको मृत्यु भएको पुष्टि भएको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग फेला परेको प्राधिकरणले जनाएको छ । बाढीपछि २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार कर्मचारी रहेका छन् ।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, विदेशी नागरिक ५९२ जना र उनीहरूसँगै भ्रमणमा गएका १२७ जना नेपाली पनि सम्पर्कविहीन रहेको जनाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी तथा क्वारेन्टाइन कार्यालयका तीन कर्मचारीको अवस्था पनि अज्ञात छ ।
जिल्लागत रूपमा रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा बेपत्ताको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


