राष्ट्र बैंकको संरचनामा बारम्बार फेरबदल नगर्न स्वर्णिम वाग्लेको सुझाव

काठमाडौं , साउन १९ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन ।
मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिए । उनले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पु¥याउनसक्ने भन्दै सचेत गराए । डा. वाग्लेले राष्ट्र बैंकको सञ्चालक समिति सदस्य संख्या सातबाट बढाएर नौ पु¥याउने प्रस्तावप्रति असहमति प्रकट गरे । समावेशिता र विविधीकरण सकारात्मक पक्ष भएपनि संस्थालाई कार्यमुखी बनाउनु मुख्य चुनौती रहेको उनको तर्क छ । डेपुटी गभर्नरको संख्या तीन पु¥याउनु पर्ने आवश्यकता नरहेको उनको भनाइ छ । बैंकमा हाल १८ जना कार्यकारी निर्देशक रहेको र उनीहरू डेपुटी गभर्नर सरहकै विज्ञ हुने भएकाले दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुने उनले स्पष्ट पारे ।
सञ्चालक समितिका सदस्यहरूको योग्यताका सम्बन्धमा डा. वाग्लेले केही खुकुलो र व्यावहारिक मापदण्ड अपनाउन सुझाव दिए । विशेषगरी अन्तर्राष्ट्रिय वित्तीय वा विकास संस्थाहरू जस्तैः विश्व बैंक, एशियाली विकास बैंक वा संयुक्त राष्ट्र संघमा उच्च तहमा काम गरेका नेपाली विज्ञहरूलाई समेट्न सक्ने गरी कानूनी प्रावधान स्पष्ट हुनुपर्ने उनले बताए । राष्ट्र बैंकको स्वायत्तता जोगाउँदै यसलाई थप व्यावसायिक बनाउन र स्थापित अभ्यासहरूलाई विना ठोस कारण गिजोल्न नहुनेमा उनको जोड छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



