चितवनमा भेटिएका शव सड्न थाले, जमिनमुनि गाडिने सुरक्षा समितिको निर्णय

भदौ १३ - रसुवा बाढीपछि चितवनका विभिन्न स्थानबाट संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव जमिनमुनि गाडिने भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले शवहरू सड्न–गल्न थालेपछि स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
चितवनमा हालसम्म बाढी प्रभावित क्षेत्र, होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट २३३ वटा शव तथा शवका अवशेष संकलन गरिएको छ । तीमध्ये चारवटा शवको पहिचान भइसकेको छ भने बाँकी २२९ शवको पहिचान हुन सकेको छैन ।
पहिचान नभएका शवहरू लामो समयदेखि राखिएका कारण सड्न–गल्न थालेको र दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिम बढेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले औंल्याएका थिए । विज्ञहरूको सुझाव र अवस्थाको विश्लेषणपछि शवहरूलाई थप सड्न नदिन सुरक्षित तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
भविष्यमा शवको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले प्रत्येक शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार शवहरूको अन्तिम व्यवस्थापन भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला क्षेत्रमा जमिनमुनि गाडेर गरिनेछ ।
अत्यावश्यक स्वास्थ्य तथा मानवीय परिस्थितिका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मृतकका परिवार तथा आफन्तजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



