सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस, साझा मुद्दामा दलहरूलाई एकजुट बनाउने प्रयास

काठमाडौँ, कात्तिक १७ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध विपक्षी मोर्चा कस्न थालेको छ ।
सरकारका पछिल्ला कामकारबाहीविरुद्ध कांग्रेसले संसद्भित्र र बाहिर रहेका विपक्षी दलहरूलाई एकजुट बनाउन कसरत थालेको हो । केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरेको भोलिपल्ट सोेमबारबाट नै कांग्रेसले विपक्षी दलहरूलाई एकजुट बनाउन पहल गरेको छ । सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले संसद् र सडकबाट विपक्षी दलहरूलाई एउटै ठाउँमा उभ्याउन खोजेको छ । यही प्रयासस्वरूप कांग्रेसले सोमबार विपक्षी दलहरूको बैठक बोलाएर साझा मोर्चा निर्माणको प्रयास अघि बढाएको छ । संसद् बैठक आह्वान गरेर जनताका विषयहरू, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधानमाथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रूपमा छलफल गर्नुपर्ने निर्णय कांग्रेसद्धारा आह्वान गरिएको विपक्षी दलहरुको बैठकले निर्णय गरेको छ । रास्वपा नेतृत्वमा गठन भएको सरकारलाई शंकाको सुविधा दिँदै आएको कांग्रेस पछिल्लो समय आक्रामक ढंगले उपस्थित हुन खोजेको छ । सरकारमाथि दबाब बढाउने प्रयासस्वरुप कांग्रेसले संसद् भित्र र संसद् बाहिर रहेका दलहरूको साथ खाजेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



