कांग्रेस इतर पक्षको महाधिवेशन प्रक्रिया आजदेखि सुरु, वडा अधिवेशन हुँदै

काठमाडौँ , असोज १५ - नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशनको औपचारिक प्रक्रिया आजदेखि सुरु गर्दैछ ।
संस्थापन इतर पक्षले १५ औं महाधिवेशन अन्र्तगत आजदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो । पार्टीको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व, संगठन र भावी रणनीतिका विषयमा देखिएको मतभेदबीच सुरु भएको अधिवेशनलाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिले जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेशनको तयारीका लागि जिल्लादेखि वडा तहसम्म अधिवेशन तयारी समिति गठन भइसकेको जनाएको छ । इतर पक्षको निर्वाचन समितिका अनुसार आज असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै,मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी छ । महाधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन तयारी समितिले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ । पक्ष पक्षले पार्टीको १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



