देवानगञ्ज गोलीकाण्डमा मृतक संख्या तीन पुग्यो

काठमाडौं , साउन १९ - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
साउन १० गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा आज काठमाडौमा मृत्यु भएको हो । मेहताको काठमाडौ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । १० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो । बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल ल्याइएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो । देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सोही घटनाका अन्य घाइतेहरुको उपचार विराटनगरमा भइरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



