Global TV Logo
लोड हुँदैछ...

दरबार हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग, २५ वर्षपछि फेरि उठ्यो विषय

S
Sristi Thakuri
२०२६-०६-०२, ०९:२८ AM
होमपेज/समाचार
दरबार हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग, २५ वर्षपछि फेरि उठ्यो विषय

स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डबारे निष्पक्ष छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न सरकारसँग पुनः आग्रह गरेको छ। प्रतिष्ठानले मंगलबार स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत यस्तो माग अघि सारेको हो।

महासचिव रञ्जित धमलाले दरबार हत्याकाण्ड भएको २५ वर्ष बितिसक्दा पनि घटनाको यथार्थ अझै जनसमक्ष नआउनु दुःखद र चिन्ताजनक रहेको बताए । उनका अनुसार २०५८ साल जेठ १९ गते भएको उक्त घटना नेपालको इतिहासकै अत्यन्तै दुखद तथा रहस्यमय घटनामध्ये एक हो, जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो।

उनले राज्यले अहिलेसम्म निष्पक्ष छानबिन गर्न नसक्नु गम्भीर कमजोरी भएको टिप्पणी गर्दै उक्त दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा आधिकारिक रूपमा अभिलेखीकरण गर्नुपर्ने माग पनि गरे । 

कार्यक्रममा बोल्दै धमलाले राजा वीरेन्द्रको योगदान, त्याग र शान्तिप्रिय छविलाई देश तथा विदेशका नेपालीहरूले कहिल्यै भुल्न नसक्ने उल्लेख गर्दै स्मृति सभामा सहभागी हुँदा भावुक बनेको पनि बताए । 

प्रतिष्ठानले राजा वीरेन्द्रले अघि सारेको ‘नेपाललाई शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावलाई पनि स्मरण गरेको छ। उक्त प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि केही देशको असहमतिका कारण कार्यान्वयन हुन नसकेको भन्दै त्यसलाई पुनर्जीवित गर्न सरकारलाई आग्रह गरिएको छ।

स्मृति दिवसका अवसरमा प्रतिष्ठानले जावलाखेलस्थित वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव प्रवर्द्धनका लागि सम्बन्धित निकायलाई थप सक्रिय हुन आह्वानसमेत गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
दरबार हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग, २५ वर्षपछि फेरि उठ्यो विषय | Global TV Khabar