सरकार लोकतान्त्रिक व्यवस्थामाथि प्रहाररत : देवराज चालिसे

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार संसदीय लोकतन्त्रको मर्मविपरीत गतिविधिमा लागेको दाबी गरे ।चालिसेले संसदीय प्रणालीभित्र रहेर सरकारले त्यसैको आधार कमजोर बनाउने काम गरिरहेको टिप्पणी गरे । अध्यादेश जारी गर्ने शैली, अदालतसँग सम्बन्धित विषय, नागरिक अधिकार, प्रेस स्वतन्त्रता तथा सङ्घीयताको कार्यान्वयनमा देखिएका कमजोरी लोकतान्त्रिक व्यवस्थामाथिको चुनौती भएको उनको भनाइ थियो। नेपालको भू–राजनीतिक अवस्था र सामाजिक संरचनालाई ध्यानमा राख्दै संसदीय शासन प्रणाली अपनाइएको स्मरण गराउँदै उनले अहिले यही व्यवस्थामाथि अदृश्य रूपमा आक्रमण भइरहेको बताए।उनले सञ्चारकर्मीलाई सत्य र स्वतन्त्रताको पक्षमा दृढ भएर उभिन आग्रह गर्दै अमेरिकामा रङ्गभेदविरुद्ध रोजा पाक्र्सले गरेको आन्दोलनको उदाहरण दिएका थिए । पत्रकारको कलमले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न सक्ने उनको विश्वास थियो। प्रवक्ता चालिसेले नेपाली काँग्रेसले चुनाव हार्न सक्ने भए पनि लोकतन्त्र र देशको पक्षमा सधैँ उभिने बताए। निर्वाचनमा भएको हारलाई उनले अस्थायी “सेटब्याक” को संज्ञा दिँदै आगामी वर्षहरूमा जनताले चाहेजस्तो काँग्रेस निर्माण गरेर पुनः सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



