सक्कली बिल लिएर लखपति बन्न सरकारको आग्रह

साउन ७ - बजारमा सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिनु केवल उपभोक्ताको अधिकार सुनिश्चित गर्ने माध्यम मात्र रहने छैन । त्यही सानो बिलले भविष्यमा तपाईंलाई लखपति बन्ने अवसर पनि दिलाउन सक्छ । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै डिजिटल भुक्तानी गरी बिल लिने उपभोक्तालाई दैनिक र पाक्षिक रूपमा नगद पुरस्कार दिने व्यवस्था गरेको हो ।
यस योजनाअनुसार १०० रुपैयाँभन्दा बढीको सामान किनेर बिल लिने जोकोही उपभोक्ताले पुरस्कार प्राप्त गर्न सक्नेछन् । कर प्रणालीलाई थप प्रभावकारी बनाउने, बिल लिने दिने सस्कृतिको बिकास गर्ने उद्देश्यसहित सरकारले नयाँ ‘लखपति योजना’ सञ्चालन गर्न गएको आन्तरिक राजस्व विभागका सुचना अधिकारी केशव रघवंशी बताउछन् ।
उपहार कार्यक्रमअन्तर्गत दैनिक एकजना भाग्यशाली विजेताले १ लाख ३३ हजार ३४ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, महिनामा दुईपटक ‘बम्पर उपहार’को गोलाप्रथा हुनेछ, जसमा दुई जनाले जनही १० लाख रुपैयाँ जित्ने मौका पाउनेछन् । महिनाको १ देखि १५ गतेसम्म संकलन भएका बिलको नतिजा १६ गते र १६ गतेदेखि मसान्तसम्मको नतिजा अर्को महिनाको १ गते सार्वजनिक गरिनेछ । यसरी १० लाख वा १ लाख पुरस्कार प्राप्त गर्ने विजेताले कर भने तिर्नुपर्नेछ । यसमा डिजिटल माध्यमबाट भुक्तानी गर्नेहरू प्रणालीमा स्वतः आबद्ध हुनेछन् भने नगद कारोबार गर्नेले आन्तरिक राजस्व विभागको मोबाइल एप वा वेब पोर्टलमा बिलको विवरण (बिल नम्बर, प्यान र रकम आदि) प्रविष्ट गर्नुपर्नेछ । विजेताको जानकारी मोबाइल नम्बर र इमेलमार्फत पठाइनेछ । साथै, विजेताको नाम आन्तरिक राजस्व विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ ।
यस योजनाले उपभोक्तामा बिल लिने बानीको विकास गर्नेछ । सरकारले यस योजनामार्फत प्रत्येक कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने, राजस्व चुहावट रोक्ने तथा व्यवसायीलाई पनि अनिवार्य रूपमा बिल जारी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । योजना यही महिनाको १६ गते देखि लागु गर्ने गरेर प्रयासरत रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



