प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि बैठक सञ्चालन प्रभावित भएको हो ।सभामुख डोलप्रसाद अर्याल का अनुसार बैठक आजै १५ मिनेटपछि पुनः बस्ने गरी स्थगित गरिएको छ ।बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन शाह ले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्री शाह बैठकमा अनुपस्थित भएपछि कार्यसूची अघि बढाउने जिम्मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम लाई दिइएको थियो ।यसप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा प्रश्न उठाएका थिए । उनीहरूले नीति तथा कार्यक्रमदेखि नै प्रधानमन्त्री निरन्तर अनुपस्थित रहेको भन्दै आपत्ति जनाए । साथै, प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन हुन नसकेको विषयमा गम्भीर प्रश्न उठाए ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था रहेको छ । तर उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै विपक्षीले असन्तुष्टि जनाएका हुन् ।विपक्षीको प्रश्नपछि सभामुख अर्यालले सत्तापक्षबाटै जवाफ दिन समय दिएका थिए । त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी ले प्रधानमन्त्रीले आफ्नो कार्यसूची अर्को मन्त्रीमार्फत अघि बढाउन सक्ने व्यवस्था रहेको तर्क प्रस्तुत गरे ।त्यसपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच सवाल–जवाफ र चर्को बहस सुरु भएको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



