देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

भदौ १- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेको कसुरमा देउवा चढेको गाडी र स्वागतमा सहभागी मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । गएको बिहीवार देउवालाई विमानस्थलबाट उनको निवास महाराजगञ्जसम्म नेता कार्यकर्ताले पुर्याएका थिए । त्यस क्रममा गाडीको ढोका बाहिर नेता कार्यकर्ताले झुण्डिएर यात्रा गरेका थिए ।
यात्रु राख्न नमिल्ने ठाउँमा यात्रु राखेको कसुरमा गाडीका चालकलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिबाना गरेको छ । यस्तै देउवाको स्वागतमा सहभागी भएको अर्को मोटरसाइकलमा तीन जना चढेको पाइएपछि मोटरसाइकल चालकलाई ५ सय रुपैयाँ जरिबाना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले देउवा चढेको गाडीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुर्घटनाबाट बच्नको लागि ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



