पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप, मालवाहकलाई राति मात्र सञ्चालन अनुमति

काठमाडौं , भदौ १९ - केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।
राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल–सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ । उक्त राजमार्गमा १० टन तौलभन्दा बढीका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडक जाम हुन नदिन ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको बताए । उनले धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको जानकारी दिएका छन् । ग्याँस बुलेटलगायतका ठूला मालवाहक सवारीसाधनलाई बिपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिनेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



