लालबकैया नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

काठमाडौं , साउन २७ - रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव फेला परेको छ। देवाही गोनाही नगरपालिका–२, लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव बुधबार बिहान परोहा नगरपालिका–२, जिंगडवा क्षेत्रमा नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने क्रममा तीनैजना बेपत्ता भएका थिए। अर्की १० वर्षीया रोशन खातुन अझै बेपत्ता छिन्। उनको खोजीका लागि सशस्त्र प्रहरीको नौ सदस्यीय गोताखोर टोली रबर बोटसहित परिचालन गरिएको छ।
दुई बालबालिकाको शव फेला परेपछि लक्ष्मिनियाका परिवार तथा आफन्तमा रुवाबासी चलेको छ।
नेपालमा हरेक वर्ष ठूलो संख्यामा मानिसले पानीमा डुबेर ज्यान गुमाउने गरेका छन्। विशेषगरी तराई–मधेशमा नदी, पोखरी तथा खाल्डाखुल्डीमा जमेको पानी बालबालिकाका लागि जोखिमपूर्ण बन्दै गएको छ। यस्ता दुर्घटना रोक्न अभिभावक, समुदाय र स्थानीय तहले विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



