Global TV Logo
लोड हुँदैछ...

पौडेलको गिरफ्तारीलाई एमालेले भन्यो ‘राजनीतिक प्रतिशोध’

S
Sristi Thakuri
२०२६-०६-२३, ०६:३७ AM
होमपेज/विशेष समाचार
पौडेलको गिरफ्तारीलाई एमालेले भन्यो ‘राजनीतिक प्रतिशोध’

काठमाडौं असार ९ - नेकपा एमालेका पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीविरुद्ध राजनीतिक प्रतिवाद गर्ने भएको छ । 

पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेपछि एमालेका नेताहरूले विरोध गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका हुन् । एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ । एमाले महासचिव शंकर पोखरेलले पौडेलको पक्राउपछि कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण संकलन गर्ने तथा अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताविपरित पौडेललाई पक्राउ गरिएको टिप्पणी गरेका छन् । 

उनले पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका वेला नियोजित रूपमा नेता पौडेललाई नियन्त्रणमा लिने काम भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको केही बेरमा महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

उनले राज्यका कुनै पनि निकायका स्वतन्त्र र निष्पक्ष हुनु पर्दछ भन्दै उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताएका छन् । यसैबीच,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका छन् । 

पौडेलको पक्राउलाई अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा भन्दै ओलीले सरकारको दमनकारी कदम एमालेमाथि लगातार भइरहेका श्रृङ्खलावद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट भएको दाबी गरेका छन् । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको ओलीको वक्तव्यमा उल्लेख छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com