Global TV Logo
लोड हुँदैछ...

आज पनि एमाले बैठक : ओलीले जवाफ दिने

B
Binita Thapa
२०२६-०५-२४, ०३:४१ AM
होमपेज/समाचार
आज पनि एमाले बैठक  : ओलीले जवाफ दिने

 जेठ १० - नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा पदाधिकारीहरु मूल एजेन्डा भन्दा फरक विषयमा बोलिरहेका छन् । यसलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको प्रतिक्रियामा सीमित राखेका छन् । तर पार्टीका पदाधिकारीहरु एकपछि अर्को गरेर अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिइरहेका छन् ।

नेतृत्वको वरियता र कार्यविभाजनको मूल एजेन्डा राखेर शुक्रबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ । आजको बैठक बिहान ११ बजेपछि तय भएको छ । 

 उनले हिजोको बैठकमा आफूले थप आइतबारको बैठकमा बोल्ने बताएका थिए । पहिलो दिनको बैठकमा पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा बादलले मात्रै ओलीको नेतृत्वलाई थप परिस्कृत बनाएर लैजानु पर्ने बताइरहँदा बाँकी चार उपाध्यक्षले पार्टी संकटमा परेको अवस्थाको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्न सुझाएपछि बैठक स्थगित भएको थियो । अध्यक्ष ओलीकै निबासमा भएको बैठकमा पहिलो दिन नै चार उपाध्यक्षले नेतृत्वबाट बिदा लिन गरेको आग्रहले अध्यक्ष ओलीप्रति असन्तुष्टि बढेको देखिएको थियो । शनिबार भएको बैठकमा महासचिव शंकर पोखरेलले समेत मार्गप्रशस्तकै पक्षमा तर्क गरेपछि अध्यक्ष ओली अरु असमञ्जसमा परेका थिए । उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसमेत ‘यु टर्न’ भएपछि सचिवालयमा अध्यक्ष ओली कमजोर देखिएका थिए ।

शनिबार भएको बैठकमा पनि यही सिलसिला दोहोरियो । माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेका नेताहरु आफ्ना विपक्षमा उभिएपछि अध्यक्ष ओलीले यसलाई सकारात्मक लिनसकेका छैनन् । पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको बताएका छन् । अध्यक्ष ओलीले अहिलेसम्मका पदाधिकारीहरुले बोलेका विषयमा जवाफ दिने भनेपछि आज पनि सचिवालय बैठकको मूल एजेन्डामा प्रवेश होला कि नहोला, संशय देखिएको छ । किनभने अध्यक्ष ओलीले सचिवालयमा आफू कमजोर देखिए पनि केन्द्रीय समितिमा बहुमत रहेको बताउँदै आएका छन् । बैठक केन्द्रीय समिति बैठक आह्वानतिर मोडिने सम्भावना रहेको एक नेताले बताए ।

आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने तालिका पनि छ । उपमहासचिव लेखराज भट्टले आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
आज पनि एमाले बैठक : ओलीले जवाफ दिने | Global TV Khabar