अमेरिका–इरान वार्ता सकारात्मक, ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य

काठमाडौँ, असार ८ - कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ ।
वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका हुन् । स्विट्जरल्यान्डमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ ।
वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम,प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् । समितिले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ ।
साथै, स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ । वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ । लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा द्वन्द्व–न्युनीकरण कक्ष स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन् । बाँकी प्राविधिक विषयहरूमा छलफल गर्न यसै साता पुनःवार्ता हुने बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



