रास्वपा सरकारबाट जनताको आशा पूरा हुने विश्वास छैन : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट जनताको अपेक्षा पूरा हुनेमा आफू विश्वस्त नरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले ठूलो जनमत प्राप्त गरेको सरकारको हालसम्मको कार्यशैली सन्तोषजनक नरहेको टिप्पणी गरे। जनताले परिवर्तनको आशासहित दुईतिहाइ समर्थन दिए पनि सरकारले त्यसअनुसार परिणाममुखी काम गर्न नसकेको उनको भनाइ थियो।
उनले सरकार सफल होस् भन्ने चाहना आफ्नो पार्टीको रहेको उल्लेख गर्दै जनताको अपेक्षा विपरीत गतिविधि भए त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिए। सरकारको कामकारबाहीले जनतालाई निराश बनाउने अवस्था आए उज्यालो नेपाल पार्टी चुप लागेर नबस्ने उनले बताए।
अध्यक्ष घिसिङले पुराना र नयाँ दुवै राजनीतिक शक्तिबाट नेताकार्यकर्ता आफ्नो पार्टीतर्फ आकर्षित भइरहेको दाबी गर्दै उज्यालो नेपाललाई जनताले वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेर्न थालेको बताए।
उनले सरकारले ल्याएको बजेटमार्फत विद्युत क्षेत्रमा कर लगाउने व्यवस्था गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। मुलुकको दीर्घकालीन समृद्धिका लागि जलस्रोत, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
घिसिङले उज्यालो नेपाल पार्टी जनताका मुद्दा उठाउँदै सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको दाबी गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



