आजदेखि अधिकमास शुरु

आजदेखि मलमास अर्थात् अधिकमास शुरु भएको छ ।
आउँदो असार १ गतेसम्म अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि शुरु भएको हो । ज्योतिषीय गणनाअनुसार ३ सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँशीदेखि अर्को औँशीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने मान्यता छ । यसैबीच, काठमाण्डौको चन्द्रागिरि नगरपालिका अन्तर्गत मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा आजदेखि पुरुषोत्तम मेला शुरु भएको छ । हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरुषोत्तम मेला चल्नेछ । मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन आउने गर्छन् ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



