एडीबी अध्यक्ष मासातो कान्डा दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेट

काठमाडौँ, असार २२ - एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। आइतबार राति करिब १० बजे काठमाडौं आइपुगेका कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।
सोमबार र मंगलबार नेपालमा रहने क्रममा अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री शाह पदभार सम्हालेपछि विदेशी उच्चस्तरीय पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ।
भ्रमणका क्रममा कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि सोमबार दिउँसो ३ बजे भेटवार्ता गर्नेछन्। यसका साथै उनले नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्नुका साथै एडीबीको सहयोगमा सञ्चालित विभिन्न विकास परियोजनाको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
अर्थ मन्त्रालयका अनुसार भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकास क्षेत्रसँग सम्बन्धित दुई सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ।
एडीबी अध्यक्षको नेपाल भ्रमणलाई नेपाल–एडीबी सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...
