चार दिनपछि सिमराको सडक खुल्यो, सवारी आवागमन सामान्य

भदौ ७ - तीन वर्षीया गरिमा चौधरीको हत्याको विरोधमा बुधबारदेखि अवरुद्ध सिमराको जनजीवन आइतबारदेखि क्रमशः सामान्य बन्दै गएको छ।
स्थानीय बासिन्दा तथा मृतकका परिवारले वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत सिमरा दशधुरेमा टेन्ट राखेर गर्दै आएको आन्दोलन शनिबार रातिदेखि स्थगित भएपछि आइतबार बिहानैदेखि सडकमा सवारीसाधन सञ्चालनमा आएका हुन् । आन्दोलनका कारण रोकिएका मालवाहक सवारीसाधन राति नै गन्तव्यतर्फ लागेका थिए । आइतबार बिहानदेखि भने लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन नियमित रूपमा चल्न थालेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया गरिमा गत आइतबार बिहान घरबाट हराएकी थिइन् ।
परिवार तथा स्थानीयले खोजी गरिरहेका बेला उनको शव दुई दिनपछि मंगलबार साँझ नजिकैको एउटा खाली घरमा फेला परेको थियो। बालिकाको हत्या भएको खुलेपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय र परिवार आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलन स्थगित भएसँगै सिमरामा सडक यातायात तथा दैनिक गतिविधि सामान्यतर्फ फर्किन थालेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...


