ट्राफिक व्यवस्थापनमा प्रविधिको फड्को, सडकमा रोबट उतारिँदै

काठमाडौँ, असार ८- काठमाडौं उपत्यका देशकै सबैभन्दा व्यस्त शहरी क्षेत्रमध्ये एक हो । यहाँ दैनिक लाखौं सवारी साधन सञ्चालन हुने गरेका छन् । ति, सवारीको व्यवस्थापन र सडक अनुशासन कायम राख्ने जिम्मेवारी ट्राफिक प्रहरीले निर्वाह गर्दै आएको छ । तर, बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापन झन् चुनौतीपूर्ण बन्दै गएको छ । यही चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने उद्देश्यसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरीले रोबटको परीक्षण थालेको छ । परीक्षण सफल भएमा राजधानीका विभिन्न सडक र चोकमा ट्राफिक प्रहरीसँगै रोबटले पनि सेवा दिनेछन् ।
ट्राफिक प्रहरीका अनुसार रोबटको प्रयोगले सेवाग्राहीसँग हुने व्यवहारलाई अझ निष्पक्ष, समान र व्यवस्थित बनाउन सहयोग पुग्नेछ । कहिलेकाहीँ ट्राफिक प्रहरीको व्यवहार, अनावश्यक झन्झट वा, दुव्र्यवहारसम्बन्धी आउने गुनासोलाई समेत यसले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।रोबटलाई ट्राफिक सचेतना कार्यक्रमदेखि जेब्रा क्रसिङ व्यवस्थापनसम्मका कार्यमा प्रयोग गर्ने तयारी गरिएको छ ।
सडक पार गर्ने पैदल यात्रुलाई सहजीकरण गर्नुका साथै ट्राफिक नियमबारे जनचेतना फैलाउने काममा पनि रोबट सक्रिय रहने बताइएको छ । यति मात्र होइन, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई दिइने एकघण्टे ट्राफिक कक्षामा समेत रोबटको प्रयोग गर्ने योजना छ । यसले प्रविधिमैत्री र आधुनिक ट्राफिक व्यवस्थापनको अभ्यासलाई थप बल पुग्ने विश्वास गरिएको छ ।
यसैबीच ट्राफिक प्रहरीले एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त क्यामेरा र रोबटलाई एकीकृत गर्दै स्मार्ट ट्राफिक प्रणाली सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ । उक्त प्रणालीमार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको विवरण स्वचालित रूपमा अभिलेख गरिने र जरिवानासम्बन्धी सूचना सम्बन्धित व्यक्तिको घरमै पठाउने व्यवस्था गरिने बताइएको छ ।
विश्वभर प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपालमा पनि ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधि भित्र्याउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ । यद्यपि रोबट परीक्षणकै चरणमा रहेकाले यसले ट्राफिक व्यवस्थापनलाई कति प्रभावकारी बनाउँछ, सडक दुर्घटना न्यूनीकरणमा कस्तो भूमिका खेल्छ भन्ने कुरा भने आगामी परिणामले स्पष्ट पार्नेछ ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनतर्फको यो प्रयास सफल भएमा काठमाडौं उपत्यकाको ट्राफिक प्रणाली अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



