नेपाल–फ्रान्स सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता, उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता
No image available
काठमाडौँ, असार २५ — उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलबीच आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–फ्रान्स सम्बन्धका विभिन्न पक्ष, आपसी सहयोग र द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, सहयोग र मित्रतामा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरे। उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्य ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ले नेपालको राजनीतिक आन्दोलनलाई समेत प्रेरणा दिएको बताए।
युरोपेली सङ्घमार्फत फ्रान्सले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
भेटमा उनले फ्रान्सको आसन्न राष्ट्रिय दिवसको अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।
राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप सुदृढ बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



