Global TV Logo
लोड हुँदैछ...

बेपत्ता ९ कोरियाली नागरिकको खोजीमा सहयोग माग्न विदेशमन्त्री छो नेपाल आउँदै

S
Sristi Thakuri
२०२६-०९-०५, ०६:०० AM
होमपेज/समाचार
बेपत्ता ९ कोरियाली नागरिकको खोजीमा सहयोग माग्न विदेशमन्त्री छो नेपाल आउँदै

काठमाडौं  ,भदौ २० - दक्षिण कोरियाका विदेशमन्त्री छो ह्यन तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। नेपालमा आएको बाढीपछि आफ्ना नौ नागरिक बेपत्ता भएपछि उनी उनीहरूको खोजी तथा उद्धारमा नेपाली पक्षसँग समन्वय र सहयोगका लागि नेपाल आउन लागेका हुन्।

दक्षिण कोरियाको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री छोको नेपाल भ्रमणबारे जानकारी दिएको हो। भ्रमणका क्रममा उनले नेपाली पक्षसँग बेपत्ता कोरियाली नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका लागि आग्रह गर्नेछन्।

नेपाल बसाइका क्रममा विदेशमन्त्री छोले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशबीचको सम्बन्धसँगै बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, उनले नेपालमा रहेका बेपत्ता कोरियाली नागरिकका परिवार तथा नेपालमा कार्यरत सम्बन्धित कोरियाली कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्नेछन्। बेपत्ता नागरिकको अवस्थाबारे जानकारी लिनुका साथै खोजी कार्यमा भइरहेको प्रगतिबारे समेत उनले जानकारी लिने कार्यक्रम रहेको छ।

नेपालमा सक्रिय दक्षिण कोरियाली विदेश आपत्कालीन उद्धार टोली (केडीआरटी) का सदस्यलाई समेत विदेशमन्त्री छोले भेटेर उद्धार तथा खोजी कार्यमा उनीहरूले गरिरहेको योगदानका लागि हौसला प्रदान गर्नेछन्।

भदौ १० गते आएको बाढीमा परी दक्षिण कोरियाका नौ नागरिक बेपत्ता भएका छन्। बेपत्तामध्ये डुसान इनर्जीबिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी रहेका छन्।

बेपत्ता नागरिकको खोजीका लागि नेपालमा नेपाली सुरक्षाकर्मी तथा दक्षिण कोरियाली उद्धार टोलीले संयुक्त रूपमा प्रयास गरिरहेका छन्। यही घटनापछि दक्षिण कोरियाली विदेशमन्त्री स्वयं नेपाल आएर खोजी तथा उद्धार कार्यबारे प्रत्यक्ष जानकारी लिन लागेका हुन्।

तीनदिने नेपाल भ्रमण पूरा गरेपछि विदेशमन्त्री छो सोमबार फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बेपत्ता ९ कोरियाली नागरिकको खोजीमा सहयोग माग्न विदेशमन्त्री छो नेपाल आउँदै | Global TV Khabar