रसुवा जाने वैकल्पिक सडकमा सास्ती, राहत ढुवानीमै समस्या

भदौ १५- भोटेकोशी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडकबाट यात्रु तथा राहत सामग्री ढुवानी गर्न थालिएको छ । बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने सडक अहिले रसुवा जाने प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको छ ।
तर, सडक साँघुरो र अत्यधिक चिप्लो हुँदा यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ। सडकको अधिकांश भागमा एक पटकमा एउटा मात्र सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्ने अवस्था रहेकाले विपरीत दिशाबाट सवारीसाधन आएमा लामो समयसम्म जाम हुने गरेको छ । विशेषगरी उकालो सडकमा सवारीसाधनले पर्याप्त पिकअप लिन नसक्दा समस्या थपिने गरेको छ । राहत सामग्री बोकेका ठूला ट्रक तथा पिकअपलगायतका सवारीसाधन उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिने गरेका छन् । एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा त्यसको पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिएर बस्नुपर्ने अवस्था छ ।
मुख्य सडक तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था रहेकाले वैकल्पिक मार्गलाई सहज बनाउन सडक सुधार, ग्राभेलिङ तथा प्रभावकारी सवारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसो गर्न सकेमा यात्रु आवागमनसँगै बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको ढुवानीसमेत सहज हुने अपेक्षा गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


