रसुवा बाढीपीडितको पुनःस्थापनामा जुट्छ सरकार : प्रधानमन्त्री शाह

काठमाडौं , भदौ १६ - प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपीडितलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको जानकारी दिएका हुन् । सोमबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री शाहले स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरणसमेत संकलन सुरु भइसकेको जानकारी दिएका छन् । हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो पीडा सरकारले बुझेको बताएका छन् । पीडित परिवारको पीडामा मलह्म लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पु¥याउनु अबको बाटो भएको उनको भनाइ छ । मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्ने उल्लेख गर्दै शाहले पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी रहेको बताएका छन् । प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढी सामान्य प्रकृतिको नभएको बताउँदै हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै विपद्को जोखिम बढ्दै गएको उल्लेख गरेका छन् । उनले भोटेकोशी बाढी हिमालय क्षेत्रमा हिउँचट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको उल्लेख गरे । यस्ता घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने बताएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



