विद्या भण्डारीको ‘कमब्याक’, एमाले राजनीतिमा अब के भूमिका ?

२०७२ असोजदेखि २०७९ फागुन २५ गतेसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी त्यसपछि सक्रिय राजनीतिबाट अलग थिइन् । तर एमालेले झण्डै एकवर्ष लामो आन्तरिक छलफल र विवादपछि अन्ततः उनको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेसँगै उनी पुनः पार्टी राजनीतिमा फर्किने बाटो खुलेको छ ।
एमालेभित्र भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने विषय नयाँ भने होइन । उनी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी नेतृ हुन् । पार्टीभित्रकै कतिपय नेताहरूले महाधिवेशनकै समयमा उनको सदस्यता नवीकरण हुनुपर्ने अडान राख्दै आएका थिए । तर त्यसबेला निर्णय हुन सकेको थिएन । अहिले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा सदस्यता नवीकरणको निर्णय भएपछि एमालेभित्र नयाँ राजनीतिक सन्देश गएको विश्लेषण भइरहेको छ ।
एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीको निर्णयलाई सकारात्मक रूपमा लिएको बताएकी छन् । विद्या भण्डारीको पुनरागमनले एमाले र समग्र नेपालको राजनीतिमा नयाँ परिवर्तनको आभास दिने उनको तर्क छ । राष्ट्रपतिको भूमिकामा रहँदा भण्डारीले संविधानको संरक्षकका रूपमा काम गरेको उल्लेख गर्दै अब उनको आगामी राजनीतिक भूमिका कस्तो हुन्छ भन्नेमा चासो बढेको छ । भण्डारीको पुनरागमनलाई वाम एकताको सम्भावनासँग समेत जोडेर हेरिएको छ ।
वाम शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभियानमा भण्डारीलाई जिम्मेवारी दिनुपर्ने धारणा पार्टीभित्र सुनिन थालेको छ । कतिपय नेताहरू भने पार्टीभित्र व्यक्तिगत स्वार्थका आधारमा निषेधको राजनीति बन्द हुनुपर्ने बताउँछन् । पूर्वराष्ट्रपति जस्तो व्यक्तित्वलाई सम्मानजनक भूमिका दिँदै लोकतान्त्रिक संस्कार विकास गर्नुपर्ने उनीहरूको भनाइ छ ।
एमालेभित्र ओलीको विकल्पका रूपमा पनि केही नेताहरूले भण्डारीलाई हेर्न थालेका छन् । वाम एकताको नयाँ समीकरण बनेर भण्डारी नेतृत्वमा आउँदा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी चीनसँगको सम्बन्धमा समेत नयाँ सन्देश जानसक्ने विश्लेषण भइरहेको छ ।
एमालेको पछिल्लो निर्णय केवल एक नेताको सदस्यता नवीकरण मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलन, भावी नेतृत्व र सम्भावित वाम ध्रुवीकरणसँग जोडिएको राजनीतिक सन्देशका रूपमा समेत हेरिएको छ । तर प्रश्न अझै बाँकी छ—एमालेले अहिले आएर मात्रै यो निर्णय किन ग¥यो ? एक वर्षअघि नै किन गरिएन ? यही प्रश्नसँगै विद्या भण्डारीको पुनरागमनले नेपाली राजनीतिमा कस्तो तरंग ल्याउँछ भन्ने बहस अब अझै तीव्र बन्ने देखिन्छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



