‘श्री पशुपतिनाथको इतिहास’ पुस्तक लोकार्पण

काठमाडौं , भदौ ३१ - डा. दीपक कुमार शर्माद्वारा लिखित ‘श्री पशुपतिनाथको इतिहास’ पुस्तक काठमाडौंको चण्डोलमा लोकार्पण गरिएको छ। विशाल मिलन वैज्ञानिक योग नेपालद्वारा आयोजित विशेष समारोहमा सोमबार पुस्तक लोकार्पण गरिएको हो।
कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका प्रमुख संरक्षक दिवाकरप्रसाद भण्डारीले पुस्तकमा लेखकको अध्ययन, चिन्तन र अनुभव समेटिएको बताए। विशेष अतिथि अनुजा पौडेल भट्टराईले पशुपतिनाथको इतिहास, धार्मिक तथा आध्यात्मिक पक्ष बुझ्न पुस्तक उपयोगी हुने धारणा राखिन्।
विश्व जागरण अभियानका संरक्षक स्वामी आनन्द विनोदले पुस्तकलाई स्वअध्ययन र ज्ञान विस्तारको माध्यमका रूपमा लिनुपर्ने बताए। पुस्तक समीक्षक बन्दना थापाले यसमा पशुपतिनाथको इतिहाससँगै संस्कृति, आस्था र सभ्यताका विविध पक्ष समेटिएको बताइन्।
लेखक डा. शर्माले चर्चामा आउन नभई समाजका लागि पढ्नयोग्य सामग्री तयार गर्ने उद्देश्यले पुस्तक लेखेको बताए। उनले पाठकलाई पुस्तकमा भएका कमी–कमजोरी औंल्याउँदै आगामी लेखनका लागि सुझाव दिन आग्रह गरे।
समारोहमा योग, अध्यात्म, साहित्य तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रम कार्यवाहक अध्यक्ष राजेश कुमार शर्माको सभापतित्वमा सम्पन्न भएको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



