Global TV Logo
लोड हुँदैछ...

आज रातिदेखि सरकारी भुक्तानी बन्द, अन्तिम दिन खर्चको चाप उच्च

B
Buna Ghimire
२०२६-०७-०९, ०७:५० AM
होमपेज/विशेष समाचार
आज रातिदेखि सरकारी भुक्तानी बन्द, अन्तिम दिन खर्चको चाप उच्च

काठमाडौं, असार २४ — चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी बजेटबाट भुक्तानी गर्ने आज अन्तिम दिन रहेकाले देशभरका सरकारी निकायमा भुक्तानी टुङ्ग्याउने चाप अत्यधिक बढेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि नै सरकारी खाता बन्द गरी बजेट भुक्तानी रोक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आज राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायका खाताबाट चालु आर्थिक वर्षको बजेटअन्तर्गत हुने भुक्तानी बन्द हुनेछ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आजसम्म भुक्तानी हुन नसकेका खर्चहरू अब नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिएको व्यवस्थाअनुसार मात्र भुक्तानी गर्न सकिनेछ।

हालसम्म सरकारले विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ अर्थात् करिब ७८ प्रतिशत खर्च भएको छ। चालूतर्फ ८७.२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ९०.१७ प्रतिशत खर्च भए पनि विकास निर्माणसँग सम्बन्धित पूँजीगत बजेटको खर्च भने ४० प्रतिशतमा सीमित रहेको छ।

आर्थिक वर्षको अन्तिम दिन भएकाले भुक्तानीको चाप अस्वाभाविक रूपमा बढेको छ। हिजो मात्र सरकारी खाताबाट ११ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ भुक्तानी भएको थियो। त्यसअघि मङ्गलवार ११ अर्ब ७६ करोड २२ लाख र सोमवार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ निकासा भएको तथ्यांकले देखाउँछ।

अन्तिम दिन भएकाले स्थानीय तह, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागलगायत विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयहरूमा बिल फर्छ्योट, भुक्तानी निकासा र वित्तीय प्रक्रिया टुङ्ग्याउने काम तीव्र रूपमा भइरहेको छ।

यद्यपि आर्थिक वर्षको अन्त्यमा हुने उच्च खर्चका बीच पनि पूँजीगत बजेटको न्यून कार्यान्वयनले विकास निर्माणको गति अझै अपेक्षाअनुसार अघि बढ्न नसकेको तथ्य फेरि उजागर भएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com