Global TV Logo
लोड हुँदैछ...

डब्लुएचओले किन विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्यो ?

B
Buna Ghimire
२०२६-०५-१७, ११:२३ AM
होमपेज/अन्तर्राष्ट्रिय
 डब्लुएचओले किन विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्यो ?

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमणको जोखिम उच्च बन्दै गएको भन्दै विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २ सय ४६ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् । 

परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन । संक्रमण बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको बताइएको छ । कंगोका स्वास्थ्य मन्त्री स्यामुएल–रोजर कम्बाकाअनुसार, यस पटकको संक्रमण पहिलो पटक एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो । त्यसपछि संक्रमण तीव्ररूपमा फैलिन थालेको हो । 

यद्यपि डब्लुएचओले हालको अवस्थालाई महामारीको स्तरमा भने नरहेको स्पष्ट पारेको छ । संगठनले  संक्रमण सीमापार फैलिनसक्ने जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन विश्व समुदायलाई आग्रह गरेको हो । क्षेत्रीय आवतजावत बढ्दै गएपछि केन्याले पनि इबोला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सतर्कतामा कडाई गरेको अन्राष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।

 सरकारले विशेष स्वास्थ्य टोली गठन गर्दै विमानस्थलसहित सबै प्रवेश नाकामा निगरानी बढाएको छ । डब्लुएचओकाअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, बालबालिका तथा कमजोर समुदाय सबैभन्दा बढी जोखिममा छन् ।

 स्थानीय स्वास्थ्य प्रणाली कमजोर भएकाले संक्रमितको पहिचान, उपचार तथा निगरानीमा चुनौती थपिएको छ । आवश्यक औषधि, स्वास्थ्य सामग्री र सुरक्षात्मक उपकरणकोसमेत अभाव देखिएको संगठनले जनाएको छ । इबोला एक घातक भाइरल रोग हो, जुन संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । विश्वभर इबोला संक्रमितमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । त्यसबेला सुडान र तत्कालीन जायरे, हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा यसको संक्रमण देखिएको थियो । कंगोमामात्रै इबोलाको यो १७औँ प्रकोप हो । डब्लुएचओले प्रभावित देशहरूलाई सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण कडा बनाउन, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको निगरानी बढाउन तथा जनचेतना अभियान सञ्चालन गर्न आग्रह गरेको छ । 

साथै संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक तथा प्राविधिक सहयोगको अपिल पनि गरिएको छ । कंगोमा यो भाइरस फेला परेको क्षेत्र नजिकै बग्ने ‘इबोला नदी’ को नामबाट यसको नामकरण गरिएको हो । 

यो रोग सङ्क्रमित व्यक्तिको रगत, वान्ता र शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्छ । इबोलाबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये कंगो पर्छ । सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप थियो, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । पछिल्ला वर्षहरूमा खोप र उपचारको विकासले यसलाई नियन्त्रण गर्न मद्दत गरे पनि फरक–फरक स्ट्रेन (प्रजाति) देखा पर्दा चुनौती थपिने गरेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com