साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

कात्तिक १०- साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।
रियादमा रहेको नेपाली दूतावासले सूचना निकाल्दै नेपालीहरूलाई सुरक्षा अवस्थाप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपील गरेको हो । दूतावासले सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी गरिएका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्वीर र भिडियो पोस्ट वा शेयर नगर्न पनि सचेत गराएको छ ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई भने उडान तालिकामा कुनै परिवर्तन भएरनभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ । आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादमा रहेको दूतावास तथा जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि आग्रह छ । साउदी अरबमा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत रहेका अनुमान छ । रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली साउदी जाने गरेका छन् ।
पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल तथा अन्य महत्त्वपूर्ण संरचनाहरूमा आक्रमण गरिरहेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



