परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै, लिपुलेक मुद्दा प्रमुख एजेन्डा बन्नुपर्ने आवाज

काठमाडौँ,जेठ ३०- परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जादै छन् । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ परराष्ट्रमन्त्री वाङ यी को निमन्त्रणामा चीन जान लागेका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
नेपालमा नयाँ सरकारको गठनसँगै छिमेकी मुलुकसँगको कूटनीतिक गतिविधि तीव्र रूपमा सुरु भएको छ । रास्वपा सभापति भारत भ्रमण गरेसँगै परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारत भ्रमण सम्पन्न गरे । शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको थियो ।
नेपाल–भारत सम्बन्धको सन्दर्भमा, खनालले विशेष रूपमा लिपुलेक क्षेत्रमार्फत भारत र चीनबीच व्यापारिक मार्ग खोलिएको विषयमा आफ्नो अडान स्पष्ट पारेको बताएका छन् । यता नेपाल सरकारका पुर्व सचिव श्याम मैनालीले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषय भएकाले अब हुन लागेको परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणमा यो मुद्दा प्रमुख रूपमा उठ्नुपर्ने धारणा व्यक्त गरेका छन् । कूटनीतिक र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको यस विषयमा नेपालले आफ्नो स्पष्ट अडान राख्नुपर्ने आवश्यकता विज्ञहरुले पनि औँल्याइएका छन् । भारत भ्रमणबाट फर्केपछि चीन भ्रमणमा जान लागेका खनालको भ्रमणलाई अर्थपुर्ण रुपमा समेत लिइएको छ । नयाँ परिवेशमा नेपालमा नयाँ सरकार बनेको र नेपालको सिमा जोडिएका दुई देशसँग समान खालको सम्बन्ध निर्माणमा सरकार लागेको समेत देखिएको छ । भारत भ्रमणमा जस्तै चीन भ्रमणमा पनि सिमाका बारेमा छलफल हुनुपर्ने पूर्वप्रशासक मैनालीको धारणा छ ।
परराष्ट्रमन्त्री खनालको आसन्न चीन भ्रमणले लिपुलेक क्षेत्र, सीमा व्यापार, तथा नेपालका राष्ट्रिय हितसँग सम्बन्धित विषयमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ । साथै, नेपाल–चीन सम्बन्धका विविध पक्षमा समेत महत्वपूर्ण छलफल हुने विश्वास गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



