मानव बेचबिखनको नयाँ चुनौती: साइबर स्क्याम नियन्त्रणमा प्रहरीको तयारी

काठमाडौं , साउन १२ - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्यूरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रस्ताव अगाडि बढाएको बताएका छन ।
मंगलबार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखापरेको बताए । उनले आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश पु¥याउने र त्यहाँ वन्धक बनाई अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने नयाँ प्रवृत्ति बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गरे ।
पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । कुल ७१० जना पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । दक्षिण पूर्वी एशिया र भारतबाट गरिएका उद्धार अभियानमा ८७ प्रतिशत महिला तथा बालबालिका नै रहेका छन् । यद्यपि, पुरुष पीडितको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण एशियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शीर्ष चारभित्र पर्ने उनले जानकारी दिए ।
महानिरीक्षक कार्कीले अबको अनुसन्धान केवल कसुर र कसुरदार पत्ता लगाउनमा मात्र सिमित नभई पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत अनुसन्धान गरिने बताए । नेपालीहरू वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा छरिएको अवस्थामा उनीहरूको सुरक्षा र कानूनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारीको आवश्यकता रहेको उनले बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



