लेबनानमा युद्धविरामपछि पनि इजरायली आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं असार ६- लेबनानको दक्षिणी क्षेत्रमा गएराति इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भएपनि आक्रमण भएको हो । राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए)का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीह क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो ।
सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको जनाइएको छ । एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा तीन जना, देइर जहरानीमा एक जना र द्वेइर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप एक जनाको मृत्यु भएको दाबी गरेको छ । शुक्रबारमात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो ।
त्यसै दिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो । यसैबीच, अमेरिका र कतारी मध्यस्थकर्ताहरूको पहलमा इजरायल–हिज्बुल्लाहबीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो । तर, पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



