ग्लोबल टेलिभिजनको असोज महिनाको उत्कृष्ट कर्मचारीमा कुँवर सम्मानित

काठमाडौँ, कात्तिक १७ - ग्लोबल टेलिभिजनले संस्थामा कार्यरत कर्मचारीमध्ये अक्कल कुँवरलाई असोज महिनाको उत्कृष्ट कर्मचारीका रूपमा सम्मान तथा पुरस्कृत गरेको छ ।
भाइटीकाको अवसर पारेर शुक्रबार आयोजित एक विशेष समारोहमा टेलिभिजनले डेस्क शाखामा कार्यरत कुँवरलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेको हो । कुँवर ग्लोबल टेलिभिजनको डेस्क शाखामा कार्यरत रहेका छन् ।
कुँवरलाई ग्लोबल टेलिभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठले नगद पुरस्कार, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।
संस्थामा कार्यरत कर्मचारीको मनोबल उच्च राख्दै कार्यसम्पादनमा थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले ग्लोबल टेलिभिजनले प्रत्येक महिना उत्कृष्ट कर्मचारी छनोट गरी पुरस्कृत गर्दै आएको छ । उत्कृष्ट कर्मचारी छनोट तथा सम्मानले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र उत्प्रेरित बनाउने विश्वास व्यवस्थापन पक्षले लिएको छ ।
सम्मानित भएपछि कुँवरले आफूले इमानदारीपूर्वक गरेको कामको मूल्याङ्कन भएकोमा खुसी तथा गर्व महसुस भएको बताए । उनले आफ्नो कामको कदर गर्दै सम्मान गरेकोमा टेलिभिजन व्यवस्थापनप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए ।
कर्मचारीको योगदानको कदर गर्दै नियमित रूपमा उत्कृष्ट कर्मचारी सम्मान गर्ने संस्थाको यस पहलले कार्यस्थलमा सकारात्मक प्रतिस्पर्धा र कामप्रतिको उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



