प्रहरी पोसाक खरिद प्रकरण : सीसीटीभी निगरानीमा कागजात अध्ययन गर्दै संसदीय उपसमिति

काठमाडौं, कात्तिक १२- प्रहरी पोसाक खरिदमा अनियमितता भएको दाबीबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट विवरण प्राप्त भएपछि संसदीय उपसमितिका सदस्यहरूले प्रारम्भिक अध्ययन सुरु गरेका हुन् । डकुमेन्ट दुरूपयोग हुन सक्ने वा बिना अध्ययनबाहिरिन सक्ने भएकोले समितिमै राख्ने र त्यसको अध्ययन समेत सीसीटीभीको निगरानीमा रहने गरी व्यवस्था मिलाइएको छ ।
ती सदस्यका अनुसार स्वतन्त्र भएर प्राप्त डकुमेन्टको अध्ययन गर्ने समझदारी बनेको छ । नेपाल प्रहरीले गत वर्षको माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।
यस सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति नै बनेको हो । १६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । उपसमितिलाई दुई महिनाको समय दिइएको छ । उपसमितिका अर्का सदस्यका अनुसार डकुमेन्टहरूको चाङ नै छ ।
प्राप्त विवरण यही कातिक ३० गतेसम्म प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ । नेपाल प्रहरी र सशस्त्रले पोसाक खरिदमा कुनै अनियमितता नरहेको दाबीसहितको डकुमेन्ट पठाएका छन् ।
जसअनुसार २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना र शसस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । दुवैतर्फ गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए । निर्वाचन प्रहरीले भूगोल अनुसार प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ रुपैयाँदेखि अधिकतम ८६ हजार ४८४ रुपैंया खर्च भएको थियो । उनीहरूले ४० दिनको अवधिको पारिश्रमिक, रासन, यातायात खर्च र खाजा खर्च बापत रकम पाएका थिए ।
सरकारले निर्वाचन प्रहरीलाई पोसाक वापत रकम उपलब्ध गराएको थियो । हिमाली भेगमा खटिनेले ११ हजार ५ सय, पहाडमा ७ हजार ९४५ र तराईमा खटिने प्रहरीका लागि ६ हजार १७० रुपैंयाका दरले रकम छुट्याइएको थियो ।
निर्वाचन प्रहरीको पोशाक शीर्षकमा करिब एक अर्ब रुपैंया निकासा भएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



