रास्वपा महाधिवेशनको वैधानिकतामाथि प्रश्न, तोसिमा र गणेश कार्कीको छानबिन माग

काठमाडौं , साउन १४ - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठेको छ ।
बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा असन्तुष्ट नेताहरुले असार दोस्रो साता चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका हुन् । रास्वपा नेतृ डा. तोसिमा कार्कीले चितवन महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन नसक्ने बताएकी छन् । महाधिवेशन सकिएको एक महिनापछि बसेको केन्द्रीय समितिको बैठकमा कार्कीले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएकी एक सदस्यले जानकारी दिएका छन् ।
महाधिवेशनमा ३० प्रतिशत प्रतिनिधिले मात्र भोट हालेको भन्दै उनले कसरी मान्यता दिन सकिन्छ भन्दै प्रश्न गरेकी हुन् । अर्का केन्द्रीय सदस्य गणेश कार्कीले विधान सुटुक्क संशोधन गरेको आरोप लगाएका छन् । उनले सभापति रवि लामिछानेलाई सहज हुने गरी महामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन गरेको आरोप लगाएका छन् ।
महाधिवेशन र विधानमा भएको छेडखानी छानबिन गर्न कार्यदल गठन गर्नुपर्ने माग राखेपछि बैठकमा हंगामा भएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । वैधानिकताको प्रश्न उठेपछि सभापति लामिछाने कडा रूपमा प्रस्तुत हुँदै एउटै घरमा छानबिन नहुने भन्दै असन्तुष्ट नेताहरुको माग अस्वीकार गरेका थिए । असार ७ देखि १२ गतेसम्म भएको महाधिवेशनमा करिब चार हजार महाधिवेशन प्रतिनिधि सहभागी थिए ।
केन्द्रीय सदस्यको निर्वाचनमा ७६ प्रतिशतले मतदान गरेकोमा पदाधिकारी निर्वाचनको बेला जम्मा ३० प्रतिशत प्रतिनिधि सहभागी भएका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



