बालेन–रवि भेटवार्ता ५ घण्टा लामो, मन्त्रिमण्डल हेरफेरदेखि आईजीपी हटाउने चर्चासम्म छलफल

काठमाडौँ , कात्तिक १२ - प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबिच लामो छलफल भएको छ ।
सभापति लामिछानेको निवास बुढानीलकण्ठमा दिउँसो प्रधानमन्त्री र सभापतिबीच झण्डै ५ घण्टा छलफल भएको बताइएको छ । सभापति लामिछानेसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकार कुमार बेनलाई पनि राखेका थिए । उनीहरूबिच सरकारको समीक्षा, संघीय निजामती सेवा सम्बन्धी अध्यादेश, सांसद खगेन्द्र सुनार प्रकरण, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाह र सभापति लामिछानेबिच मन्त्रिमण्डल हेरफेरको विषयमा समेत कुराकानी भएको छ ।
सभापति लामिछानेले केही मन्त्री परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर,सहमति भइनसकेको बताइएको छ । बालेन्द्रले निजामती सेवासहित केही अध्यादेश ल्याउने विषयमा जानकारी गराएका थिए । तर, सभापति लामिछानेले निजामती सेवा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउन नहुने धारणा राखेका छन् । सभापति लामिछानेले सांसद खगेन्द्र सुनारमाथि लागेको गम्भीर आरोपमाथि भइरहेको अनुशासन र आचरण सम्बन्धी छानबिनबारे पनि जिज्ञासा राखेका छन् ।
यस्तै, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको टिमले हटाउन खोजेको भन्ने सार्वजनिक खबरबारे पनि प्रधानमन्त्री र सभापतिबीच छलफल भएको छ । केही व्यक्तिसँगको सम्पर्क–सम्बन्ध र सार्वजनिक रूपमा उठेका प्रश्नलाई आधार बनाएर प्रधानमन्त्री शाहको सचिवालयले आईजीपी कार्कीमाथि दबाब बढाएको छ । तर, सभापति लामिछाने आइजीपी कार्कीलाई हटाउन नहुने पक्षमा रहेका निकट नेताहरुको दाबी छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


