खाडी मुलुकहरुको आग्रहपछि इरानमाथिको अमेरिकी हमला रोकियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमणलाई तत्कालका लागि स्थगित गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर वार्ताहरू भइरहेको जानकारी दिएका हुन् । अमेरिकाका लागि पूर्ण रूपमा स्वीकार्य हुने गरी सम्झौता हुने जानकारी आफूलाई गराइएको दाबी गर्दै उनले इरानसँग कुनै पनि हालतमा आणविक हतियार हुन नदिने दृढता व्यक्त गरेका छन् । यद्यपि, कुनै स्वीकार्य सम्झौता हुन नसकेमा अमेरिका जुनसुकै क्षण इरानमाथि पूर्ण र ठुलो स्तरको आक्रमण गर्न तयार रहने उनको चेतावनी छ । यता, इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत आँकलन नगर्न चेतावनी दिएका छन् । गत फेब्रुअरी २८ मा इजरायली र अमेरिकी सेनाले इरानमाथि ठुलो हवाई आक्रमण सुरु गरेका थिए । तेहरानले पनि खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी लक्ष्यहरूमा ड्रोन र मिसाइल प्रहार गरेर जवाफी कारबाही गरेको थियो । इरानसँग अझै ठुलो संख्यामा ड्रोन र मिसाइलहरू सुरक्षित रहेको बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



