Global TV Logo
लोड हुँदैछ...

नेपाली निर्देशकले ओस्कर अवार्ड जितेको किर्तिमान कायम गर्ने तुलसीको सपना

S
Sristi Thakuri
२०२६-०५-२०, १०:३५ AM
होमपेज/मनोरञ्जन
नेपाली निर्देशकले ओस्कर अवार्ड जितेको किर्तिमान कायम गर्ने तुलसीको सपना

भारतीय राज्य पश्चिम बंगालको कालिम्पोङमा सन् १९५१ मा जन्मिएका तुलसी घिमिरे नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा परिचित नाम हुन । उनी निर्देशक मात्र नभइ कथा र पटकथा लेखन, चलचित्र सम्पादन, छाँयाकन, अभिनय, र गीतकारका रुपमा समेत स्थापित छन । घिमिरेले ग्लोबल टेलिभिजनको प्रस्तुति ‘न्युज रुम’मा आफ्नो पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ नेपालमा प्रदर्शन गर्न नदिनेहरुलाई संकेत गर्दै ‘बनमारा’ को अवरोध भएको बताए । उनले राज्यले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग र संरक्षण गरे नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने विश्वास व्यक्त गरे । नेपाली चलचित्र क्षेत्रका वरिष्ठतम् हैसियत बनाइसकेका निर्देशक तुलसी घिमिरेलाई हालै नेपाल सरकारले मानार्थ नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया औपचारिक रुपमा अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । चलचित्र विकास बोर्डको सिफारिस तथा नेपाल सरकारको सचिवस्तरीय निर्णयअनुसार यो प्रक्रिया अघि बढेको हो । नेपाली चलचित्र उद्योगमा पुर्याएको योगदानको मूल्यांकन गर्दै सरकारले घिमिरेलाई सम्मानस्वरुप मानार्थ नागरिकता दिन लागेको हो । घिमिरेले आफ्नो करियर भारतीय चलचित्र उद्योग बलिउडबाट सुरु गरेका थिए । त्यहाँ निर्देशन र सम्पादनमा अनुभव बटुलेपछि उनले नेपाली चलचित्र निर्माणकार्यमा हात हालेका हुन् । जसअनुसार उनले सन् १९८१ मा पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ को निर्देशन गरे । यो फिल्मी करियरमा घिमिरेले नेपाली चलचित्र उद्योगलाई थुप्रै सफल र चर्चित फिल्महरु दिएका छन् । उनका चर्चित चलचित्रहरुमा ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘लाहुरे’, ‘दुई थोपा आँशु’, ‘दक्षिणा’, ‘देवता’, ‘बलिदान’, ‘दर्पण छायाँ’ र ‘दक्षिणा’ रहेका छन् । विशेषगरी ‘दर्पण छायाँ’ नेपाली चलचित्र उद्योगमा उच्च व्यापार गर्ने पहिलो चलचित्रमध्ये एक मानिन्छ । यही बैशाखमा उनको नयाँ चलचित्र ‘पहाड’ रिलिज भएको छ । उनका अधिकांश चलचित्रमा नेपाली समाज, संस्कृति, परम्परा र मानवीय संवेदनालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको पाइन्छ । वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले आफ्ना चलचित्रका कथावस्तु तथा गीत–संगीतमा मौलिक नेपालीपन झल्काउन विशेष ध्यान दिने गरेको पाइन्छ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै अभिनेता तथा अभिनेत्रीलाई स्थापित गराउने श्रेय पनि उनलाई जान्छ । घिमिरेको दीर्घकालीन लक्ष्य नेपाली चलचित्रलाई विश्वस्तरमा स्थापित गर्नु र एक दिन ‘ओस्कार’ अवार्ड जित्नु रहेको छ । नेपाल सरकारले मानार्थ नागरिकता दिएको खण्डमा नेपाली निर्देशकले ओस्कर अवार्ड जितेको किर्तिमान बनाउने घिमिरेको सपना छ । नेपाली चलचित्र क्षेत्रका बारेमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेसँग गरिएको अन्तक्रियात्मक संवाद यहि शुक्रबार साँझ ९ ः १५ बजे ग्लोबल टेलिभिजन एच डी बाट प्रसारण हुँदैछ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com