Global TV Logo
लोड हुँदैछ...

बिटुमिन संकटले निर्माणमा प्रभाव, राजधानीका सडकको बेहाल

B
Buna Ghimire
२०२६-०५-१२, ११:५० AM
होमपेज/व्यापार
बिटुमिन संकटले निर्माणमा प्रभाव, राजधानीका सडकको बेहाल

यतिबेला संघीय राजधानीका सडक खाल्डाखुल्डीले अस्तव्यस्त बनेको छ । अमेरिका र इरानबीचको युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धन र विटुमिनको मूल्य बढेपछि सडक निर्माणका काम प्रभावित बनेका हुन् । दैनिक हजारौं सवारीसाधन गुड्ने सडकमा यतिबेला सास्ती खेप्नुपरिरहेको छ । 

सडक मर्मत र कालोपत्रेको काम सुस्तमात्रै होइन पूर्णरुपमा ठप्पजस्तै बनेको छ । सर्वसाधारणले सडकको दुरावस्थाप्रति सरकारको ध्यान नै नपुगेको गुनासो गरिरहेका छन् । बालेन नेतृत्वको सरकारले अन्य क्षेत्रमा कामको गति बढाउने प्रयास गरेको दाबी गरिरहँदा निर्माण तथा पूर्वाधार क्षेत्रको काम भने सुस्त बन्दै गएको देखिन्छ । 

निर्माण व्यवसायीका अनुसार अमेरिका–इजरायल र इरानबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि परेको छ । डिजेल, मटितेल र विटुमिनको मूल्य बढेकाकारण मर्मतसम्भारको काममात्रै नभई सबैकाम रोकिएको छ । केही महिना अघिसम्म प्रतिकिलो ८५ रुपैयाँ आसपास पाइने विटुमिन अहिले १ सय ९० रुपैयाँसम्म पुगेको र दुई गुणा बढी तिरेर पनि सहज रुपमा पाउन नसक्दा निर्माण कार्यमा असर परेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको भनाई छ । 

समयमै सम्पन्न गर्नुपर्ने पूर्वाधारका कामहरु सम्पन्न हुँदा पछिल्लो समय निर्माण क्षेत्र दबाबमा परेको छ । वैशाख अन्त्यसम्म पनि मूल्य समायोजनको अवस्था सिर्जना नभएकोले चालु आर्थिक वर्षको कामसमेत रोकिने अवस्थामा पुगेको छ । एकातिर भइरहेका काम प्रभावित बनेका छन् भने अर्कोतिर विटुमिनको अभाव र अत्याधिक मूल्यबृद्धिका कारण लागतसमेत बढेको छ ।

 बिटुमिनसँगै डिजेल, सिमेन्ट र डण्डीको मूल्यसमेत बढेकाले निर्माण लागत करिब ५० प्रतिशतसम्मले बढेको छ । जसकाकारण हाल १५ देखि २० प्रतिशतमात्रै काम भइरहेका छन् । पुरानै ठेक्का सम्झौताअनुसार काम गर्दा व्यवसायी ठूलो घाटामा जाने अवस्था आएको उनीहरूको भनाइ छ । 

यसको असर देशभर सञ्चालनमा रहेका सडक आयोजना र मर्मतमा परेको छ । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्गलगायतका महत्वपूर्ण सडक आयोजनाको काम सुस्त बनेको व्यवसायीहरूको दाबी छ । निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मूल्य समायोजनका विषयमा पुनर्विचार गर्न १५ दिने समय दिएपनि एक महिनासम्म कुनै ठोस प्रतिक्रिया नआएको पूर्वअध्यक्ष सिंहले बताए ।

 वर्तमान अवस्थाको संकट समाधानका लागि तत्काल मूल्य समायोजन र आवश्यक निर्माण सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने व्यवसायीको माग छ । सरकारले तत्काल हस्तक्षेप नगरे राजधानीसहित देशभरका सडक निर्माण तथा मर्मत कार्य अझ प्रभावित हुनेसमेत निर्माण व्यवसायीहरूको चेतावनी छ ।। 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com