भारतको चिनी निर्यात प्रतिबन्धपछि नेपालमा आपूर्तिको चिन्ता, उद्योगी भन्छन्– तत्काल असर नपर्ने

भारतले तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै उपभोक्तामाझ चिन्ता देखिन थालेको छ। भारतको वाणिज्य विभागले हिजो जारी गरेको सूचनाअनुसार अब चिनी निर्यात रोकिएको हो।
यस निर्णयपछि बजारमा चिनीको अभाव र मूल्यवृद्धि हुन सक्ने आशंका उपभोक्ताहरूले व्यक्त गरेका छन्। विशेषगरी चाडपर्वको मौसम नजिकिँदै गर्दा आपूर्तिमा असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ।
तर नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार तत्काल आपूर्तिमा समस्या पर्ने अवस्था छैन। उनका अनुसार यस वर्षको क्रसिङ सिजनमा नेपालमै करिब २ लाख मेट्रिक टन चिनी उत्पादन भएको छ भने सरकारी तथ्याङ्कअनुसार ७५ देखि ८० हजार मेट्रिक टन चिनी पहिले नै आयात भइसकेको छ। यस आधारमा मङ्सिर–पुससम्म आपूर्तिमा कमी नहुने उनी बताउँछन्।
उद्योगीहरूका अनुसार नेपालमा चिनीको मूल्यवृद्धि अरू खाद्यवस्तुको तुलनामा सामान्य रहने गरेको छ। यद्यपि दशैँ–तिहार जस्ता चाडपर्वको समयमा कृत्रिम अभाव र मूल्यवृद्धिको गुनासो भने समय–समयमा आउने गरेको छ।
यता स्वास्थ्यकर्मीहरूले भने प्रशोधित चिनीको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुने भन्दै यसको प्रयोग घटाउन सुझाव दिँदै आएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



