शेयर धितो कर्जा १ खर्ब ५९ अर्ब नाघ्यो, ९ महिनामा १८ अर्ब ७८ करोडले वृद्धि

शेयर धितो कर्जा १ खर्ब ५९ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले शेयर धितो कर्जामा लगानीकर्ताहरूको आकर्षण निरन्तर उकालो लागेको देखाएको हो ।
केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कुल मार्जिन प्रकृतिको कर्जा १ खर्ब ५९ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा मात्रै बैंकहरूले १८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ थप शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकले शेयर धितो कर्जालाई चार वटा वर्गमा विभाजन गरेर विवरण सार्वजनिक गरेको छ । जसमा १ करोड रुपैयाँभन्दा माथिका ठुला कर्जाको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । सन् २०२६ को अप्रिलसम्ममा यस शीर्षकमा १ खर्ब ९ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
गत असारमा यो रकम ९८ अर्ब ९२ करोड ७९ लाख थियो । ९ महिनाको अवधिमा यसमा ११ अर्ब २ करोड ६१ लाख रुपैयाँ अर्थात ११ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । २५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जा सबैभन्दा उच्च ४७ दशमलव २ प्रतिशत छ । यस्तो कर्जा चैत मसान्तसम्म १२ अर्ब ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



