बाराको फेटा अस्पताल उद्घाटन झडप र गोलीकाण्डको छानबिन गर्न एसएसपी ढकालको नेतृत्वमा समिति गठन

काठमाडौँ, कात्तिक १५ - बाराको फेटामा अस्पताल उद्घाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
फेटा घटना छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् । समितिलाई जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । शनिबार बाराबको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् । नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विरोधकाबीच रास्वपाको नेतृत्वमा रहेको पालिकाले कार्यालय उद्घाटन गर्न खोज्दा झडप भएको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



