सर्वोच्च अदालतका चार प्रस्तावित न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि संसदीय सुनुवाइ

काठमाडौं, कात्तिक १९ - सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले यस्तो जानकारी दिएका हुन । उनकाअनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका छन । चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाई छ ।
समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रश्तावित न्यायाधीशहरूसँग सुनुवाई गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ । उजुरीकर्तासँगको छलफलपछि प्रश्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, कात्तिक २१ गते शनिवार प्रश्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाई गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ । संसदीय सुनुवाईका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दशैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाई सक्नेगरि समितिले कार्यतालिका तय गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



